काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजलाई अराजकता र निरङ्कुशतातिर फर्काउने कसरत भइरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन्। प्रचण्डले आफूहरूले स्थापित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने आफैँभित्र पनि कोही भए उनीहरूलाई सफल हुन दिन नहुने बताए।
उनले संविधानको मर्म र भावनाविपरीत संसद् विघटन गरेर देशलाई फेरि एउटा भुमरी तर्फ लैजाने प्रयासका विरुद्ध पुनः एकीकृत हुनुपर्ने आवश्यकता औंल्याए।
प्रचण्डले विगतको जस्तै संविधान मिच्ने, संसद्लाई विघटन गर्ने कसरत हुन दिनु नहुने बताए। देशलाई फेरि एकपटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा सतर्क हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे।
उनले भने, ‘समाजमा अलि बढी अराजकतातिर, निरङ्कुशतातिर फर्काउने कसरतहरू कतै न कतै पछाडितिर फर्काउने कसरत देखिएका छन्। हाम्रो अगाडि मैले जहिले पनि आज भोलि भन्ने गरेको कुरा के छ भने हामीले स्थापित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यताबाट पछि हट्न खोज्ने हामी भित्रै कसैको मनसाय छ भने त्यसलाई पनि सफल हुन नदिनुपर्ने आवश्यकता छ। हामी कहीँ न कहीँ सजग हुनुपर्ने, सतर्क हुनुपर्ने आवश्यकता छ। फेरि कतै विगतको जस्तै संविधान मिच्ने, संसद्लाई विघटन गर्ने कसरत कतै नहोस्। देशलाई फेरि एक पटक प्रतिगमनतिर लैजाने कसरत सफल हुन नपाओस् भन्नेकुरामा सतर्क हुनुपर्ने आवश्यकता छ।’
अध्यक्ष प्रचण्डले संविधान आवश्यक मात्रामा संशोधन गर्नुपर्ने तर संविधानका पक्षधरहरू गम्भीर हुन जरुरी रहेको बताए।