News Griha :: न्यूजगृह
पोखरामा ७ जना रास्वपा कार्यकर्ता पक्राउ 
फाइल तस्बिर।

पोखरा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देहीमा बयान गराएर जिल्ला प्रहरी कार्यालय लैजाँदै गर्दा नाराबाजी गर्न लागेका ७ जना पक्राउ परेका छन्।

रविलाई प्रहरी कार्यालय लैजाँदै गर्दा कार्यालय बाहिर नाराबाजी गर्न लागेका ७ जना रास्वपा कार्यकर्ता पक्राउ परेका हुन्। निषेधित क्षेत्रमा नाराबाजी गर्न लागिएपछि उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए। प्रशासनले प्रहरी कर्यालय रहेको गैह्रापाटन क्षेत्र र सहिदचोक आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा बयान गराएर शुक्रबार रविलाई कास्की ल्याइएको हो‍। मंगलबार कास्कीबाट जहाजबाट भैरहवा पुर्‍याइएका सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि सुप्रिम सहकारीको रकम हिनामिनामा पनि जोडिएको भन्दै बयान लागि लगिएको थियो।

लामिछानेसँग बयान लिएर पोखरा ल्याइएको छ। सुप्रिमबाट लामिछानेले २ करोड र जीबी राई सम्बद्धहरूको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत् गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबीन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।

पोखराको सूर्यदर्शन सहकारीमा रविको नाममा १ करोड रुपैयाँ गएको र त्यो पछि गोर्खा मिडियाकै नाममा मिलान गराइएको प्रतिवेदनमा छ। सूर्यदर्शनबाट गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको देखिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १६:१५
Weather Update