काठमाडौं— शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ। बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजीव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए। उनकाअनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन्।
दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति, शैल्यशिखर–५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको एसपी बस्नेतले बताए।
यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ। दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित ५ जना घाइते छन्।
शुक्रबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो।