News Griha :: न्यूजगृह
रवि लामिछानेलाई पोखरा पठाइँदै 

काठमाडौं— बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रूपन्देही पुर्‍याइएका रवि लामिछानेलाई शुक्रबार (आज) पोखरा पठाइँदै छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रूपन्देही लगिएको थियो। जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको थियो।

बयान सकिए पनि त्यसलाई क्रमवद्ध रुपमा लेखेर शुद्धाशुद्धि हेरेर भाषा मिलाउन र प्रमाणीकरण गराउँदा राति अबेर भएको थियो। जिल्ला प्रहरी कार्यालयका एक अधिकृतका अनुसार उनलाई आज बिहान मात्र पोखरा पठाइनेछ। लामिछानेसँग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन्।

मंगलबार दिउँसो विमानमा पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रूपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो। सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ भन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगानी भएको भेटिएको छ। उक्त रकममध्ये करिब २ करोड रुपैयाँ प्रक्रिया पूरा नगरी रवि लामिछानेको नाममा ऋण गएको भेटिएको छ।

गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो। गोर्खा मिडिया नेटवर्कमा सुरुमा जीबी राई र छविलाल जोशी शेयर सदस्य थिए। त्यसबेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो। टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै  लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए। त्यो बेला राईसँग ८० प्रतिशत र रविसँग १५ प्रतिशत शेयर थियो।

जीबी र उनको समूहले काठमाडौं, बुटवल, पोखरा, चितवन, वीरगञ्ज लगायतका शहरमा सञ्चालन गरेको सहकारीको करोडौँ रकम ग्यालेक्सी टीभीमा लगानी देखिएको थियो। जसमध्ये २ करोड रुपैयाँ त रविकै नाममा व्यापार कर्जा स्वीकृत गरेर लगेको भेटिएको थियो। 

सहकारीको रकम अपचलनमा प्रत्यक्ष रुपमा लामिछाने नजोडिए पनि अपचलन भएर आएको रकम खर्च गर्ने काममा भने लामिछानेको समेत संलग्नता देखिएको संसदीय छानविन विशेष समितिले औंल्याएको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  ०७:१५
Weather Update