News Griha :: न्यूजगृह
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा महिला पक्राउ

काठमाडौं— नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एकजना महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी बोगटी रहेकी छन्। ब्युरोका अनुसार सामाजिक सञ्जालमा चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी चरित्रमा निर्मम आघात पुऱ्याएको साथै सामाजिक जीवनमा गम्भीर असर पुऱ्याउने कार्य गर्ने उपर आवश्यक अनुसन्धान गरी कारबाहीका लागि ब्युरोमा पीडित महिलाले निवेदन दिएकी थिइन्।

सो सम्बन्धमा ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा उक्त कार्य गर्ने जानकी बोगटी खुल्न आएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा कात्तिक २६ गते सुर्खेतबाट पक्राउ गरिएको ब्युरोले जनाएको छ।

बोगटी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी दीपकराज अवस्थीले जनाएका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १७:५४
Weather Update