भैरहवा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग सहकारीको रकम हिनामिनाको विषयमा सुरू गरिएको बयान बुधबार दोस्रो दिन पनि नसकिएको प्रहरीले जनाएको छ।
गत कात्तिक २ गते पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका लामिछानेलाई मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएको थियो।
पोखराको सूर्यदर्शन सहकारीसँगै रूपन्देहीको सुप्रिम सहकारीको रकम हिनामिनामा पनि लामिछानेको संलग्नता देखिएपछि रूपन्देही प्रहरीले अनुसन्धानको लागि अदालतबाट पक्राउ गर्न आदेश लिएको थियो।
सोही अनुरूप मंगलबार दिउँसो लामिछानेलाई रूपन्देही ल्याई जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू गरिएको थियो। मंगलबार र बुधबार दिनभर अनुसन्धान अधिकृतहरूले बयान लिए पनि बयान नसकिएपछि बिहीबार पनि थप बयान लिने गरी जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा लगिएको प्रहरीले जनाएको छ।
सरकारी वकिलको कार्यालयमा भइरहेको बयानमा समेत संलग्न रहेका ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बुधबार साँझ साढे ६ बजेसम्म बयान लिँदा पनि नसकिएको बताए।
बयान नसकिएपछि बुधबार पनि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको पण्डितले जानकारी दिए।लामिछानेलाई मंगलबार पनि जिल्ला प्रहरी कार्यालयको हिरासतको अलग्गै कोठामा राखिएको थियो। बुधबार पनि सोही कोठामा राखिने र बिहीबार बिहान १० बजेदेखि नै थप बयान लिइने प्रहरी नायब उपरीक्षक पण्डितले बताए।
‘हामीले जतिसक्दो छिटो रूपन्देहीमा बयान सकाएर पोखरा पठाउन खोजिरहेका छौं, दुई दिन बयान लिँदा पनि नसकिएपछि बिहीबार बिहान पुनः लिने गरी आज पनि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ,’ पण्डितले भने।
जिल्ला सरकारी वकिल प्रेमराज पौडेलको कार्यकक्षमा भइरहेको बयानमा प्रहरी नायब उपरीक्षक पण्डित र अन्य अनुसन्धान अधिकृतहरू संलग्न छन्। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सोधिएका अधिकांश प्रश्नहरूमा लामिछानेले इन्कारी बयान दिएका छन्।
प्रहरीले लामिछानेसँग बयानका लागि गोर्खा मिडिया नेटवर्क प्रालि र सहकारीको रकम अपचलनसँग सम्बन्धित ७० वटा जति प्रश्न बनाएर सोधिरहेको जनाएको छ। लामिछानेले सहकारीको रकम आफ्नो खातामा कसरी गयो आफूलाई थाहा नभएको र गोर्खा मिडियामा सहकारीको रकम लगिएकोबारे पनि आफूलाई जानकारी नभएको दाबी गरिरहेका छन्।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड र गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबि) राई लगायतको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडियामा लगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
जसमध्ये साढे २ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन उपाध्यक्ष एवं प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको नाममा गएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। विभिन्न सहकारीको बचत रकम गोर्खा मिडियामा लगानी गरेर अपचलन गरेको भन्दै संसदीय विशेष छानबिन समितिले लामिछाने, जीबी राई सहित जोशीलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो। राई फरार छन् भने लामिछानेसँगै जोशीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
गत असोज ६ गते पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीसँग कात्तिक ६ गते सुप्रिम सहकारीको विषयमा रूपन्देहीमा बयान लिइएको थियो। बुटवल मुख्य कार्यालय रहेको सुप्रिम सहकारीका १ हजार ८३१ बचतकर्ताले सहकारीका संस्थापक अध्यक्ष जीबी राई, वर्तमान अध्यक्ष ओमप्रकाश गुरूङ सहितका पदाधिकारी, सञ्चालक तथा कर्मचारीहरूले एक अर्ब बढी रकम अपचलन गरेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए।
सोही उजुरीपछि अनुसन्धान थालिएको थियो। अनुसन्धान प्रतिवेदन अनुसार सुप्रिम सहकारीमा सर्वसाधारणबाट जम्मा गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख बढी रकम अपचलन भएको देखिएको छ। सहकारीको झण्डै साढे १६ करोड रुपैयाँ गैरकानुनी ढंगले लामिछाने सञ्चालक र प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको पाइएपछि लामिछाने पनि अनुसन्धानमा तानिएका हुन्।
लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरा, काठमाडौं, बुटवल लगायतका स्थानमा प्रदर्शन गर्दै आएको छ। लामिछानेलाई बयानका लागि भैरहवा ल्याएसँगै रास्वपा कार्यकर्ता र सुप्रिम सहकारीका बचतकर्ताले मंगलबार दिनभर भैरहवामा प्रदर्शन गरेका थिए। बुधबार भने दुबै समूहको खासै उपस्थिति नरहेको प्रहरीले जनाएको छ।