काठमाडौं— नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा अबको १५ दिनभित्र उद्योगीहरुले बक्यौता नतिरे प्राधिकरण फेरि आफ्नै प्रक्रियामा लाग्ने बताएका छन्।
प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा घिसिङले यस्तो बताएका हुन्। ‘हामीले गरेको बिल अनुसारको महसुल उद्योगीहरुले १५ दिनभित्र तिरेनन् भने हामी आफ्नो प्रक्रियामा फेरि लाग्नेछौ,’ उनले भने, ‘सरकारले पनि १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेको छ।’
बक्यौता उठेन भने अब नेपाल सरकार र ऊर्जा मन्त्रालय पनि बक्यौता उठाउन अघि बढ्नेमा विश्वस्त रहेको उनको भनाइ छ। 'प्राधिकरण आफ्नो ऐन कानुनमा रहेर बक्यौता उठाउन अघि बढ्नेछ, यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र विद्युत् नियमन आयोगको निर्देशन अनसुार तीन महिना सुविधा दिएका थियौँ।'
अब सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको मात्र चासोको विषय नरहेको भन्दै उनले अब सबै सर्वसाधारण सरोकारवालाको चासोको विषय रहेको उनले बताए। लाइन काट्ने र जोड्ने गर्नुभन्दा दिर्घकालीन रुपमा समस्याको समाधान गर्नुपर्ने उनको भनाइ छ।