News Griha :: न्यूजगृह
सुप्रिम सहकारीबाट रकम लिएको इन्कार गरे रविले, आज फेरि बयान

रूपन्देही— सहकारी ठगीबारे अनुसन्धानका लागि बयान लिन कास्कीबाट मंगलबार भैरहवा ल्याइएका पूर्वगृहमन्त्री रवि लामिछानेले रकम हिनामिनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा लामिछानेको बयान लिइएको हो। साँझ ६ बजे बयानको क्रम सकिएको छ। आज पनि उनको बयान लिइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठोरले बताए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेसँगको बयानमा इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजय पण्डित, जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलसहित केही अनुसन्धान अधिकृत सामेल थिए। उनीहरूले सुप्रिम सहकारीको रकम हिनामिनाबारे लामिछानेसँग सोधपुछ गरेका थिए।

मंगलबार सामान्य सोधपुछ भए पनि लिखित सोधपुछ बुधबार हुने जिल्ला न्यायाधिवक्ता पौडेलले जानकारी दिए। ‘हिजो सामान्य सोधपुछ भयो,’ उनले भने, ‘आजदेखि लिखित प्रश्न सोध्छौँ ।’

रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमै राखिएको छ। बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको भन्दै लामिछानेविरुद्ध सङ्गठित ठगी गरेको आरोपमा अनुसन्धान भइरहेको छ। बयानमा भने उनले सहकारीबाट रकम नलगेको जिकिर गरेका छन्।

सहकारीबाट आफ्नो नाममा गएको रकम कसले र कसरी लग्यो भन्नेबारे आफूलाई जानकारी नरहेको लामिछानेले बयानका क्रममा बताएका छन्।

अनुसन्धानमा संलग्न स्रोतका अनुसार बयानमा रवि लामिछानेले आफूले सहकारीबाट रकम नलगेको र कसैलाई त्यस्तो आग्रह वा निर्देशनसमेत नदिएको जिकिर गरेका छन्।

गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सहकारीबाट उक्त मिडियामा गएको रकमका विषयमा उनीसँग सामान्य सोधपुछ भएको बताइएको छ।

सहकारी रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनमा सुप्रिम सहकारीको खाताबाट गोर्खा मिडिया नेटवर्कको खातामा सिधै रकम ‘ट्रान्सफर’ भएको उल्लेख छ। उक्त रकम कर्मचारी रोशनी गुरुङले जम्मा गरिदिएको उल्लेख छ। यससँगै रविको नाममा थप ९६ लाख रुपैयाँ प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०७:२०
Weather Update