काठमाडौं— सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डे पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबल कार्यालयबाट गएको टोलीले उनीहरूलाई २० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।
‘अदालतका कर्मचारीहरूले घुस मागेको उजुरी आएपछि हामीले आन्तरिक निगरानी र अनुसन्धान गरेका थियौँ, त्यसपछि न्यायिक नेतृत्वलाई जानकारी गराएर उनीहरूलाई पक्राउ गरिएको हो’ अख्तियारस्रोतले भन्यो, ‘पक्राउ गरेपछि सबै प्रक्रिया पुरा गरेर उनीहरूलाई हिरासतमा लिइएको छ।’
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जिल्ला अदालत कपिलवस्तुमा अख्तियारले स्टिङ अपरेसन गरेको पुष्टि गरे। उनले भने, ‘यसबारेको विस्तृत विवरण सङ्कलन गरिरहेका छौँ।’
न्यायालयभित्र कर्मचारीवृत्तमा हुने घुसखोरीमा विरलै हात हाल्ने अख्तियारले पछिल्ला केही वर्षयता अदालतभित्र सक्रियता देखाएको थिएन।
सेवाग्राहीको उजुरीको आधारमा रङ्गेहात कारवाही गरेको अख्तियारले अदालतका दुई कर्मचारी पक्राउ गरेको हो। जिल्ला अदालतमा रहने तहसिल्दारलाई फैसला कार्यान्वयनको जिम्मेवारीमा हुन्छन्।