
काठमाडौं— उम्मेदवारहरूको डाटा मेटिएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ ।
बुधबारबाट लागु हुनेगरी आयोगले ३० दिनसम्म पुनः दरखास्त दिन आह्वान गरेको हो । लोक सेवा आयोगले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेका उम्मेदवारहरूलाई पुनः दरखास्तका लागि आह्वान गरेको आयोगका प्रवक्ता एवं सहसचिव तोयनारायण सुवेदीले बताए ।
उनले २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरूमा दरखास्त दिइसकेकाहरूले मात्रै दरखास्त भर्न पाउने र उनीहरूले दस्तुर शुल्क तिर्नु नपर्ने बताए । उनले यसपटक पनि ८० हजार भन्दा धेरैले दरखास्त भर्ने अनुमान गरेको बताए । उनले पहिला दरखास्त भरिसकेकाहरूको डाटा संकलनका लागि मात्रै पुनः दरखास्त आह्वान गरिएको उल्लेख गरे ।
प्रवक्ता सुवेदीले आयोगले शाखा अधिकृतको परीक्षा ९ असारमा गर्ने र अन्य पदको परीक्षा भने साउन महिनादेखि मंसिरसम्म सक्नेगरी तयारी गरिरहेको पनि बताए । उनले पुनः दरखास्त दिँदा पहिला जुन समूहको विज्ञापनमा आवेदन गरिएको हो सोही समूहको विज्ञापनमा मात्र आवेदन दिनुपर्ने बताए । उनका अनुसार पुनः दरखास्त प्राप्त भएपछि साबिकमा स्वीकृत भइसकेका दरखास्तहरू अनलाइन दरखास्त प्रणालीबाटै पहिचान गरी पुनः दरखास्त स्वीकृत हुने प्रबन्ध मिलाइएको छ ।
लोक सेवा आयोगको अनलाइन दरखास्त प्रणाली होस्ट गरिएको सरकारी एकीकृत डाटा सेन्टर (जीआईडीसी) बाट मेटिएका डाटाहरू रिकभरी हुने निश्चित नभएपछि आयोगले पुनः दरखास्त मागेको हो ।













