पोखरा— मौसम खुलेसँगै रास्वपाका सभापति रवि लामिछानेलाई पोखराबाट भैरहवा पठाइएको छ।
बुद्ध एअरको जहाजमार्फत मङ्गलबार मध्यान्ह उनलाई पोखराबाट भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
लामिछानेलाई बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयानका लागि रूपन्देही पठाइएको हो।
यसैबीच रूपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ। लामिछानेको समर्थनमा रास्वपाले भैरहवामा प्रदर्शन थालिसकेको छ।
बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
यसै विषयको बयानका लागि लामिछानेलाई रूपन्देही लगिएको हो। कास्कीमा भने रविमाथि सूर्यदर्शन सहकारीको रकम हिनामिना गरेको आरोप छ।