काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको बताएका छन्।
सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने, राजनीतिमा अपराधीकरणको प्रक्रियालाई रोक्ने कुरामा सरकार दृढ संकल्पित रहेको बताए।
उनले समाज, राजनीतिलाई अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउले खालका क्रियाकलाप गर्ने छुट कसैलाई नरहेको बताए। उनले गलत क्रियाकलाप गर्नेहरुलाई आफ्नै पार्टीका भएपनि सरकारले नछोड्ने बताए।
‘समाजमा देखापरेका सबै खालका विकृति, विसंगतिहरु हटाउन सरकारले काम गरिरहेको छ। खास गरी राजनीतिक क्षेत्रमा देखापरेका भ्रष्टीकरणका प्रक्रिया रोक्ने कुरा, राजनीतिमा अपराधीकरणको प्रक्रिया जुन भइरहेका छन्, सर्वत्र तिब्र आलोचना भइरहेको छ,यसलाई रोक्ने कुरामा वर्तमान सरकार दृढसंकल्पित छ,' उनले भने।
मन्त्री गुरुङले सबैकुराको समाधान एकै दिनमा नहुने भएकाले कतिपय बेला धैर्यता देखाउन आवश्यक हुने बताए। उनले भने, 'हाम्रो समाजलाई, हाम्रो राजनीतिलाई अझ अस्थिर बनाउने, सामाजिक सञ्जाललाई अझ भत्काउने, हाम्रो सामाजिक, सांस्कृतिक, धार्मिक सहिष्णुतालाई भत्काउने खालका क्रियाकलाप गर्ने कसैलाई पनि छुट छैन। कोशी प्रदेशको कानूनमन्त्रीको कुरा गर्नुभएको होला। त्यो एउटा संकेत हो। यस्तो हर्कत गरेको खण्डमा सरकारले सत्तारुढ दलको कुनै सांसद होस् की, कुनै मन्त्री, मुख्यमन्त्री होस्, त्यसले छुट पाउँदैन। गल्ती गर्नेले सजाय पाउनुपर्छ। चोरलाई चौतारो साधुलाई शुली हुँदैन, साधुलाई चौतारो, चोरलाई शुली नै हुन्छ।'
सञ्चारमन्त्री गुरुङले गलत प्रवृत्ति नियन्त्रणमा सरकार गम्भीरताका साथ लागेको बताए।