काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मङ्गलबार बुटवल लगिने भएको छ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर सूर्यदर्शन सहकारीको अनुसन्धान भइरहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न मङ्गलबार बिहान बुटवल लैजाने तयारी गरिएको हो।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीले उनीसँग बयान लगायतका अनुसन्धानका लागि बुटवल पठाइदिन पत्राचार गरेको हो। सूर्यदर्शन सहकारीको ठगी आरोपमा पोखरामा बयान सकिएकाले उनलाई बुटवल पठाउने तयारी भएको कास्की प्रहरीले जानकारी दिएको छ।
बुटवलमा पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। यसअघि छविलाल जोशीलाई बुटवल लगेर बयान सकिएपछि पोखरा नै फिर्ता गरिएको थियो।
छविलाल जोशी असोज ६ गते र रवि लामिछाने कात्तिक २ गते पक्राउ परेका हुन्। उनीहरूलाई अझै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिइसकेको छ। यहीबीचमा बुटवलमा पनि अनुसन्धान अगाडि बढाउने तयारी प्रहरीले गरेको छ।
यसअघि रवि लामिछाने गृहमन्त्री हुँदै बुटवलको सुप्रिम सहकारी ठगीमा अभियोग दायर भएको थियो। अभियोग पत्रमै लामिछानेका नाममा पनि सहकारीको रकम गएको उल्लेख थियो। ठाउँठाउँमा लामिछानेको संलग्नता खुल्ने उल्लेख भए पनि उनीसँग सामान्य सोधपुछ समेत गरेको थिएन।
सहकारी सम्बन्धी संसदीय छानबिन समितिले ५ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम लगेर अपचलन भएको निष्कर्ष निकाल्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।