News Griha :: न्यूजगृह
प्राधिकरण सञ्चालक समितिको बैठक बस्दै, मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने तयारी

काठमाडौं— नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको बैठक बस्ने भएको छ।

मन्त्रिपरिषद्ले आइतबार गरेको निर्णय कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका हुन्।

आइतबारको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन जोड्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले टीओडी मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो। उक्त निर्णय मुख्यसचिव हुँदै सोमबार ऊर्जा मन्त्रालयमा पुगेको थियो।

मन्त्रालयले सो जानकारी प्राधिकरणमा पनि पठाइसकेको छ। अहिले सञ्चालक समितिमा सोही निर्णय कार्यान्वयनको बारेमा छलफल हुने जनाइएको छ।

प्राधिकरणको नेतृत्व भने बक्यौता नबुझाएसम्म लाइन जोड्न नहुने अडानमा छ। सोमबारको सञ्चालक समितिको बैठकमा पनि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सोही अडान दोहोर्‍याउने छन्। तर ऊर्जामन्त्री दीपक खड्का जसरी हुन्छ उद्योगमा लाइन जोड्नुपर्ने पक्षमा छन्। 

मन्त्री खड्काकै प्रस्तावमा आइतबार मन्त्रिपरिषद्ले बक्यौता नबुझाएका उद्योगमा लाइन जडान गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय लिखित रूपमा सोमबार ३ बजेसम्म प्राधिकरणमा पुगेको थिएन। सञ्चालक समितिको बैठक पनि नबसेका कारण प्राधिकरणले हालसम्म उद्योगमा लाइन जोडेको छैन। 

मन्त्री खड्का भने सञ्चालक समितिबाट सकभर सहमतिमा नभए बहुमतका आधारमा भए पनि उद्योगमा लाइन जडान गर्नुपर्ने निर्णय गराउने पक्षमा छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:०७
Weather Update