कालीकोट दुर्घटना : पलाँता गाउँपालिकामा शोक बिदा
सुर्खेत— कालीकोट जिप दुर्घटनामा निधन भएकाको सम्झनामा पलाँता गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ। आइतबार पलाँता गाउँपालिका–३ मा भएको जिप दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो।
सोही दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा पलाँता गाउँपालिकाले शोक विज्ञप्ति जारी गर्दै पालिकासहित मातहतका सबै कार्यालयलाई शोक बिदा दिइएको हो।
‘जिल्ला नै स्तब्ध हुने गरी दुर्घटना भयो,’ गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले भने, ‘मृतकको सम्झनामा एक दिने शोक बिदा दिएका छौं।’
उक्त दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु भएको थियो भने १३ घाइते भएका थिए। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ।
उक्त दुर्घटनामा ज्यान गुमाएका मृतकको सोमबार पोस्टमार्टम गरेर शव आफन्तको जिम्मा लगाएपछि दाहसंस्कार हुने कालीकोट प्रहरीले जनाएको छ।
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१ १६:००