News Griha :: न्यूजगृह
सर्वोच्चमा दुई न्यायाधीश थपिए, चार अझै रिक्त

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डेयलाई नियुक्त गरेका छन् ।

न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका उनीहरूलाई राष्ट्रपतिले आइतबार न्यायाधीशमा नियुक्त गरेका हुन्। 

उनीहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सोमबार पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले बताए। अब सर्वोच्चमा न्यायाधीशको संख्या प्रधानन्यायाधीशसहित १७ पुगेको छ । सर्वोच्चमा अझै चार न्यायाधीशको दरबन्दी रिक्त छ।

सर्वोच्चका नयाँ सदस्य निरौला र पाण्डेय दुवै उच्च अदालतका न्यायाधीश हुन् । २५ वर्षसम्म न्याय सेवाका विभिन्न भूमिकामा रही काम गरेका निरौला २०७७ माघ १२ मा उच्च अदालतमा न्यायाधीश नियुक्त हुनुअघि सर्वोच्चको मुख्य रजिस्ट्रार थिए। पछिल्लो समय उनी पाटन उच्च अदालतको मुख्य न्यायाधीश थिए। सात मुख्य न्यायाधीशमध्ये वरिष्ठताक्रममा उनी एक नम्बरमा थिए।

मौजुदा रोलक्रमअनुसार सर्वोच्चमा टेकप्रसाद ढुंगानाले प्रधानन्यायाधीशबाट २०९३ पुस ५ मा अवकाश पाएपछि निरौलाले त्यसै वर्षको माघ २४ सम्मका लागि १ महिना १९ दिनसम्म न्यायालयको नेतृत्व गर्नेछन्।

कानुन व्यवसायी पृष्ठभूमिका पाण्डेय २०७० जेठ २७ मा पुनरावेदन अदालतको न्यायाधीश र गत मंसिर ६ मा तुलसीपुर उच्च अदालतको मुख्य न्यायाधीशमा नियुक्त भएका थिए। पाण्डेय ६ वर्ष ५ महिनाका लागि सर्वोच्चमा न्यायाधीश रही २०८७ मा अवकाशमा जानेछन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०६:३५
Weather Update