काठमाडौं— सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ झप्सीमा आइतबार अज्ञात समूहबाट गोली प्रहार हुँदा एक जना शिक्षक घाइते भएका छन्।
सिन्धुली र सर्लाहीको सिमाना रहेको उक्त ठाउँमा भएको गोली प्रहारबाट मकवानपुर जिल्ला बकैया गाउँपालिका –३ स्थित बुद्ध माविका प्रधानाध्यापक प्रेमबहादुर बम्जन घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार घाइतेको वीरगञ्जमा उपचार भइरहेको छ। घाइतेको दाहिने गालामा गोली लागेको र गोली दाँतमा अड्किएको छ। अभियुक्तको खोजी भइरहेको छ।
घट्नाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र अभियुक्तहरूको पहिचान नभएको उनले बताए।
सिन्धुलीका प्रहरी नायब उपरीक्षक अनिल खड्काका अनुसार ३ जनाको समूहले मोटरसाइकल चलाएर हिँडिरहेको अवस्थामा बम्जनलाई रोकेर नल कटुवा बन्दुकले गोली प्रहार गरेको बताए।
बम्जनले लगाएको हेल्मेटको दाहिनेतर्फबाट प्रहार भएको गोलीले गाला छेडेर दाँत (बंगारा) मा अड्किएको डीएसपी खड्काले बताए। ‘दाँतमा अड्किएकाले ज्यान जोगिएको पाइयो। गोलीले हेल्मेटको दाहिनेतर्फबाट गाला छेडिएको थियो,’ उनले भने।
मकवानपुरबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेको अवस्थामा बम्जनमाथि गोली प्रहार भएको हो। बम्जनसँगै सवार उनका भाइ दिलबहादुर भने सकुशल छन्।