काठमाडौं— घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ। स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा गोकर्ण दाहालले तथ्याङ्कले डेङ्गु सङ्क्रमणको ट्रेन्ड घट्दै गएको बताए।
‘डेङ्गु नियन्त्रणका लागि पालिकादेखि खोज र नष्ट अभियान सञ्चालन भएका छन्। तापक्रम घट्नु पनि यसको कारण हो। प्राकृतिक रूपमै चिसोमा लामखुट्टेले अण्डा उत्पादन गर्ने प्रक्रिया कम हुन्छ,’ उनले भने। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही समयअघि डेङ्गु नियन्त्रणका लागि देशव्यापी रूपमा लामखुट्टेको वासस्थानको खोजी र नष्ट अभियान सुरु गरेको थियो।
मन्त्रालयले हरेक शुक्रबार १० बजेर १० मिनेटमा मन्त्रालय, विभाग, निजामती कर्मचारी, सुरक्षानिकाय, सामाजिक अभियन्ताका साथै आम नागरिकलाई सहभागी हुन आह्वान गरेको थियो। सरकारी तथा गैरसरकारी संस्था तथा नागरिकस्तरमा यो अभियान सञ्चालन भइरहेको छ।
दाहालले विगतका वर्षको भन्दा अहिले सङ्क्रमण दर घटेको बताएका छन्। उनले भने‚ ‘त्यस्ता खालका अभियानले पनि घट्न मद्दत गरेको छ। डेंगु विश्वव्यापी खतराको रूपमा देखिएको छ। अरू देशको अनुभव हेर्नुभयो भने सङ्क्रमण र अस्पताल भर्ना हुनेको दर पनि बढ्दो छ। हामीले अझै धेरै गर्नुपर्नेछ तैपनि हाम्रो प्रयास र मेहनतले गर्दा सङ्क्रमण घटेको छ।’
ईडीसीडीले उपलब्ध गराएको नोभेम्बर ८ सम्मको तथ्याङ्कअनुसार हाल सबैभन्दा बढी कास्कीमा सात हजार २८६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ। त्यसैगरी काठमाडौंमा चार हजार ८०३, तनहुँमा दुई हजार ३७३, पर्वतमा एक हजार ७४९, ललितपुरमा एक हजार २४१, बाग्लुङमा एक हजार दुई सय, चितवनमा एक हजार १७५, भक्तपुरमा एक हजार ३४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ।
डेङ्गुबाट मृत्यु हुनेको सङ्ख्या भने हाल १२ छ भने ७६ जिल्लामा सङ्क्रमण फैलिएको छ। प्रत्येक वर्षको जुनदेखि अगस्टसम्मको समयलाई सामान्यतया डेङ्गु महामारीको रूप लिन सक्ने समय मानिन्छ। नोभेम्बर ५ को तथ्याङ्क तुलना गर्ने हो भने समष्टिगत रूपमा चार दिनमा देशभर एक हजार दुई सय ४९ मा डेङ्गु सङ्क्रमण देखिन्छ। जुन अघिल्लो हप्ताको तथ्याङ्क हेर्दा कम हो।
प्रमुख डा दाहालले भने, ‘चार हप्तामा डेङ्गु सङ्क्रमण दुई हजार पाँच सयबाट तल झरेको छ। यसको ट्रेन्ड एक महिनायता विस्तारै घट्दो क्रममा छ।’ विसं २०८० को पुस मसान्तसम्म देशभर झन्डै ५२ हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो।
डेङ्गु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने वेला झुल प्रयोग गर्नुपर्छ।