कोशीका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले ल्यायो काठमाडौं
काठमाडौं— मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले काठमाडौं ल्याएको छ ।
आइतबार मोरङको विराटनगरमा पक्राउ परेका उनलाई हवाइजहाजमार्फत काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थलबाट उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिने परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
जापान भ्रमणमा जाँदा असम्बन्धित व्यक्तिलाई पनि सँगै लिएर गएपछि उनीमाथि मानव तस्करीको आरोप लागेको थियो । भ्रमण विवादमा परेपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने नेकपा एमालेले उनलाई पार्टीका पदहरुबाट निलम्बन गरेको छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१ १५:४४