News Griha :: न्यूजगृह
नेपालसँग सिधा हवाईसेवा सञ्चालन गर्न कम्बोडिया इच्छुक

काठमाडौं— राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कम्बोडियाका प्रधानमन्त्री सम्देक टोको हुनसेनबीच भेटवार्ता भएको छ ।

कम्बोडियाको औपचारिक भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र प्रधानमन्त्री हुनसेनबीच शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा कम्बोडिया र नेपालबीच सिधा हवाईसेवा सञ्चालन गर्ने र द्वन्द्वत्तर दुई देशबीचको शान्ति प्रक्रियाका अनुभवहरू आदनप्रदान गर्ने विषयमा छलफलसमेत भएको छ ।

अध्यक्ष तिमिल्सिनाले दुई तिहाइभन्दा बढी बौद्धमार्गी रहेको कम्बोडिया र गौतम बुद्धको जन्मस्थान नेपालबीच सिधा हवाई सेवा सञ्चालन गर्दा त्यसले धार्मिक पर्यटनको विकास हुने धारणा राखेका थिए । नेपाल गौतम बुद्धको जन्मथलो भएकाले नेपाल बौद्ध धर्मावलम्बीहरूको लागि महत्वपूर्ण गन्तव्य रहेको उनको भनाइ थियो ।

‘गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण पूरा भइ सञ्चालनमा आइसकेकोले नेपाल र कम्बोडियाबीच सिधा हवाई सम्पर्क स्थापित गर्न आवश्यक छ’ उनले भने  । 

कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुन सेनले सिधा हवाई सेवा सञ्चालनका लागि आफ्नो देश सकारात्मक रहेको बताए । गौतम बुद्धले देखाएको शान्ति र अहिंसाको बाटोका कारण बौद्ध धर्मका अनुयायीहरू विश्वभर बढेको अवस्थामा यसले शान्तिको  सन्देश फैलाउन पनि सहयोग पुग्ने विश्वास दुवैजनाको थियो । नेपाल र कम्बोडियाले इतिहास र वर्तमानमा द्वन्द्वलाई नजिकबाट देखेका भोगेको हुनाले द्वन्द्वपछिको अनुभव आदनप्रदान गर्न पनि दुई पक्षीय सम्बन्ध विस्तारमा पनि जोड दिइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १०:४८
Weather Update