काठमाडौं— अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएलगत्तै डोनाल्ड ट्रम्पलाई युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले गरेको टेलिफोन वार्तामा अमेरिकी अर्बपति इलन मस्कले पनि कुराकानी गरेको समाचार सार्वजनिक भएको छ।
जेलेन्स्कीले ट्रम्पलाई राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिन चुनावको भोलिपल्ट टेलिफोन वार्ता गरेका थिए। त्यतिबेला ट्रम्प र मस्क फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा थिए।
ट्रम्प र जेलेन्स्कीबीच कललाई सकारात्मक र सौहार्दपूर्ण कुराकानी भएको समाचार स्रोत उद्धृत गर्दै सीएनएनले जनाएको छ। त्यसलगत्तै लाउडस्पिकरमा रहेको फोनमा जेलेन्स्कीसँग मस्कले वार्ता गरेका थिए। जेलेन्स्कीले रूससँग चलिरहेको युद्धमा युक्रेनलाई स्टारलिंकमार्फत सञ्चार प्रदान गर्न सहयोग गरेकोमा मस्कलाई धन्यवाद दिएका थिए।
करिब ७ मिनेट लामो टेलिफोन वार्तामा कुनै नीतिगत विषयमा छलफल नभएको सीएनएनले जनाएको छ। दुई नेताबीचको टेलिफोन वार्तामा मस्कले पनि कुराकानी गरेको विषयमा सबैभन्दा पहिले ‘आक्सिओस’ अनलाईनले समाचार लेखेको थियो।
गत बुधबार जेलेन्स्कीले ट्रम्पलाई टेलिफोन गरेको र ऐतिहासिक जितका लागि बधाई दिएको बताएका थिए। ‘हामी निकटको सम्बन्ध कायम गर्न गरेको सहयोगलाई अगाडि बढाउन सहमत भयौं। बलियो र अटल अमेरिकी नेतृत्व न्यायपूर्ण शान्ति र विश्वकै लागि महत्वपूर्ण छ,’ जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका थिए।
राष्ट्रपतीय चुनावी अभियानका क्रममा ट्रम्पले रुस र युक्रेनबीचको युद्ध २४ घण्टामा अन्त्य गर्ने बताएका थिए। त्यसका लागि अमेरिकाले युक्रेनलाई रुससँग असहज युद्धविरामका लागि दबाब दिने उनको टिप्पणी छ।
मस्कले ट्रम्पको चुनावी अभियानका लागि ११ करोड ८० लाख अमेरिकी डलर खर्चेका थिए। पछिल्लो समय उनी संघीय सरकारभित्र खर्च घटाउने प्रयासको नेतृत्वको आकांक्षा गरेका बताइन्छ। जेलेन्स्कीसँग ट्रम्पको टेलिफोन वार्तामा मस्क पनि सहभागी हुनुले आगामी ट्रम्प प्रशासनमा उनको प्रभाव कस्तो हुनेछ भन्ने प्रश्न उठेको छ।