News Griha :: न्यूजगृह
विमानस्थल मर्मतले उत्पन्न समस्याको समाधान खोज्न परराष्ट्रमन्त्री राणाको आग्रह  

काठमाडौं— परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले मर्मतका लागि विमानस्थल सञ्चालनको समय कटौती गरेपछि हवाई उडानका क्षेत्रमा उत्पन्न समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग आग्रह गरेकी छन्।

विमानस्थल कार्यालयले उडानको समय दैनिक १० घन्टा घटाएपछि विदेशी वायुसेवा कम्पनीहरूले काठमाडौं उडानमा कटौती गरेका छन्। उक्त कारण देखाएर वायुसेवा कम्पनीहरूले पनि नेपालबाट हुने उडानमा दोब्बर भाडा बढाएपछि समस्या उत्पन्न भएको हो।

शुक्रबार परराष्ट्र मन्त्रालयमा श्रममन्त्री शरतसिंह भण्डारी र पर्यटनमन्त्री बद्री पाण्डे सहितको बैठकमा मन्त्री राणाले हवाई उडानका विषयमा पछिल्लो परिस्थितिको अध्ययन गरी आवश्यक निकासका उपाय पहिल्याउन आग्रह गरेकी हुन्।

बैठकमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिहरूले हवाई उडान समस्याको समाधानका लागि आग्रह गर्दै मन्त्री राणालाई ज्ञापनपत्र बुझाएका थिए। उनीहरूले विमानस्थलले उडान समयमा गरेको कटौतीको कारण देखाएर हवाई कम्पनीहरूले दोब्बरभन्दा बढी भाडा वृद्धि गरेको र त्यसका कारण नेपालबाट वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा परेका बताएका थिए।

परराष्ट्रमन्त्री राणाले भनेकी थिइन्, 'वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई महँगो टिकटका कारण समस्या परेको त छँदैछ, यो मारमा अरु पनि परेकाले धेरै गुनासो आएको छ। हवाई कम्पनीहरूले यदि एकाधिकार गरेका छन् भने उनीहरूलाई नियमन गरी आवश्यक प्रक्रियाभित्र ल्याउनुपर्दछ।'

नेपालबाट टिकट नपाउने तथा धेरै नै महँगो हुने समस्या भएकाले वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई केही समयका लागि भारतको विमानस्थल हुँदै जानुपर्ने अवस्थाका लागि कूटनीतिक पहल गरिदिन संघका अध्यक्ष राजेन्द्र भण्डारी, पूर्वअध्यक्ष विमल गौतम एवं प्रनिनिधिहरू प्रज्ञान न्यौपानेलगायले मन्त्री राणासँग आग्रह गरेका थिए।

मन्त्री राणाले त्यस्तो अवस्था आएमा आफूले कूटनीतिक पहल गर्ने आश्वासन पनि दिएकी थिइन्। उनले विमानस्थल मर्मत गरिने सूचना नेपालले ६ महिना अघिदेखि नै दिएकाले अहिले आएर विदेशी हवाई कम्पनीहरूले अस्वाभाविक रुपमा भाडा बढाउन नहुने बताइन्। मन्त्री भण्डारीले श्रमिकलाई अहिले मर्का पर्नु त छँदैछ, यो समस्या राष्ट्रिय समस्या पनि भएकाले समाधानका उपायहरूको खोजी गरिने जानकारी दिइन्।

नागरिक उड्डयनमन्त्री पाण्डेले विमानस्थल मर्मतको कामको सूचना पहिल्यैदेखि दिइएकाले अहिले हवाई कम्पनीहरूले आफूखुसी भाडावृद्धि गर्न नपाउने बताउँदै समस्या समाधानका विकल्पकहरूका बारेमा छलफल गरिरहेको बताए। उनले विमानस्थल मर्मत पनि गर्नैपर्ने काम भएकाले यसलाई निरन्तरता दिँदै यसबाट उत्पन्न असहज परस्थितिको समाधानका लागि विकल्पहरू खोजिने बताए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १८:१५
Weather Update