News Griha :: न्यूजगृह
चितवन दुर्घटना : मृतक पाँचै जनाको सनाखत [अपडेट]

चितवन— नारायणगढ-मुग्लिन सडकको चितवन भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा शुक्रबार बिहान भएको दुर्घटनामा मृत्यु भएका पाँचैजनाको सनाखत भएको छ।

चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका–१ मान्बुका अन्दाजी ४२ वर्षका राजबहादुर गुरुङ र दुर्घटनाग्रस्त माइक्रोबसका चालक चितवन खैरहनी नगरपालिका–४ का अन्दाजी ४० वर्षका अनोज अधिकारी रहेका छन्।

त्यसैगरी भारत घर भई कास्की पोखरा महानगरपालिका–९ मा किराना पसल चलाउने ३६ वर्षका राजकुमार साहको पनि मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

मृतक अन्य दुई जनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बिनयीत्रिवेणी गाउँपालिका–४ बगैंचाका ३५ वर्षका सन्तोष भुसाल र ३३ वर्षकी सविना भुसाल रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी भेषराज रिजालले बताए।

सत्रकिलोमा बिहान ३ बजेतिर मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बा प्र ०६–००१ ज ०२९८ नम्बरको इभी गाडी माइक्रोबस र नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा प्र ३–००१ ख २८१२ नम्बरको ठूलो बस एक आपसमा ठक्कर खाएका थिए।

मृत्यु भएका सबैजना माइक्रोबसका चालक र यात्रुहरु हुन्। माइक्रोबसका थप एकजना यात्रु गम्भीर घाइते छन्। उनको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पोखराबाट छुटेको माइक्रोबसमा चालकसहित ६ जना रहेको चितवन प्रहरीले जनाएको छ। ठूलो बसका चालकसहित ६ जना घाइते भएका थिए। सामान्य घाइते भएका पाँचजना उपचारपछि डिस्चार्ज भइसकेका छन्।

मध्यम घाइते भएका बसका चालकको शिक्षण अस्पतालमा नै उपचार भइरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १७:२७
Weather Update