काठमाडौं— ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अनियमितता प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्युरो (एनसीबी) को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुईजनाविरुद्ध रेड नोटिस जारी गरेको प्रहरी स्रोतले बतायो।
यो सहकारी ठगीबारे अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै एनसीबीलाई यसअघि पत्र पठाएको थियो।
ब्युरोका एसपी होविन्द्र बोगटीका अनुसार, उनीहरू विदेशमा भएको आशंकासहित इन्टरपोलमार्फत खोजी गर्ने प्रक्रिया अघि बढाइएको थियो। इन्टरपोलबाट नोटिस जारी भएपछि अब उनीहरुको इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनीहरुको खोजी गर्नेछन्।
गुरुङ सत्तारुढ नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी समेत हुन्। सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ। अनुसन्धानका क्रममा सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीको ऋण तिरेको पाइएको छ।
प्रहरीका अनुसार, अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि थिएनन्। तर, उनलाई ऋण प्रवाह गरेको भेटिएको छ। सहकारी रजिष्टारको कार्यालय बागमतीले पत्र पठाएपछि सीआईबीले यो सहकारीबारे अनुसन्धान थालेको थियो।