काठमाडौं— सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लप्रति सत्तारुढ कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले आक्रोश व्यक्त गरेका छन्।
विगतमा राजनीतिक दलका झन्डा बोकेका व्यक्ति सर्वोच्च अदालतको न्यायाधीशको कुर्सीमा बस्दा दुर्भाग्यपूर्ण फैसला गरेको भन्दै सांसद ढुंगानाले आक्रोश व्यक्त गरेका हुन्।
सर्वोच्च अदालतको न्यायाधीशमा न्याय परिषद्बाट सिफारिस नृपध्वज निरौलाको संसदीय सुनुवाइका क्रममा शुक्रबार सांसद ढुंगानाले न्यायाधीश मल्लको फैसलाको आलोचना गरेका हुन्। गण्डकी प्रदेश सरकारको सम्बन्धमा मल्ल नेतृत्वको इजलासले गरेको फैसलाप्रति लक्षित गर्दै ढुंगानाले न्यायाधीशको कुर्सीमा बस्दा दलको संलग्नता देखिएको बताएका हुन्।
सर्वोच्चको न्यायाधीश हुँदा मल्लले संसदीय सुनुवाइका क्रममा जनाएको प्रतिबद्धता स्मरण गर्दै सांसद ढुंगानाले न्यायाधीश मल्लको आलोचना गरेका हुन्। 'सबैभन्दा दुर्भाग्य गण्डकीको जुन निर्णय भयो, त्यो निर्णयले धेरै नै पिरोल्यो। जबकी उहाँलाई पनि सुनुवाइ समितिमा भनेको थिएँ, तपाईंले एउटा पार्टीको झन्डा बोकेर बस्नुभएको थियो, हिजोको दिनमा। अब आज तपाईं न्यायपालिकामा आउँदै हुनुहुन्छ, तपाईंले न्याय निष्पक्ष दिन सक्नुहोला र ? भनेर भन्दाखेरि होइन चप्पल खोलेर न्यायपालिकाको कुर्सीमा बस्नुपर्छ भन्नुभयो। मलाई पनि खुसी लाग्यो। चप्पल त खोल्नुभएको होला लागेको थियो तर उहाँले चप्पल खोल्नुभएको रहेनछ।'
यस्ता विषयमा सर्वोच्च अदालतले न्यायालयको व्यवस्थापन कसरी गर्ने भन्ने प्रश्न उठेको सांसद ढुंगानाको भनाइ थियो। 'गण्डकी सरकारको बारेमा ३० जना भए बहुमत हुन्छ भन्ने फैसला भयो। ६० जना सांसदमा ३० को बहुमत कसरी हुन्छ ? ३१ जना हुनुपर्ने हो। तर निर्णय त ३० मा हुन्छ भन्ने गर्नुभयो। जुन कुराको माग नै गरिएको थिएन निवेदकले। यस्ता निर्णय भएपछि हामीलाई अप्ठ्यारो हुन्छ,' सांसद ढुंगानाले भने।
गत वैशाख १७ मा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजलासले गण्डकीमा ६० मा ३० जना सांसदको संख्या जुटेमा बहुमत पुग्ने र सरकार गठन हुनसक्ने फैसला दिएको थियो। तत्कालीन प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट खारेज गर्दै मल्ल र सुवेदीको इजलासले सभामुखलाई मतदानबाट अलग गर्दा पनि गण्डकी प्रदेशसभा ५९ सदस्यीय रहने र त्यस अनुसार ३० जना सांसदले बहुमत पुग्ने ब्याख्या गरेको थियो। जबकी सरकार गठनमा दुवै पक्षमा बराबर सांसद रहेमा सभामुखले मतदान गर्न पाउँछन्।
सांसद ढुंगानाले पञ्चायतकालमा पनि न्यायालयप्रति जनविश्वास रहेको बताउँदै पछिल्लो समयमा यस्तै गतिविधिले अदालतप्रति विश्वास कम हुँदै गएको बताए।
'हामीले के देखेका छौं भने न्यायपालिकाप्रति बहुत विश्वास छ। पञ्चायतकालमा पनि विपी कोइरालाको साथीहरू यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई फासी दिँदैगर्दा, गोली हान्दैगर्दा उहाँ (बीपी कोइराला)लाई बीबीसीमा सोध्यो कि तपाईंका साथीहरूलाई त सरकारले हानिसक्यो तपाईं त्यै मुद्दामा हुनुहुन्छ र नेपाल फर्किँदै हुनुहुन्छ, तपाईंलाई पनि त्यो हुनसक्छ नि ? भन्दाखेरि बीपीले के भन्नुभएको छ भने हैन न्यायपालिकामा मलाई विश्वास छ। न्यायालयले न्याय दिन्छ मलाई जे गर्छ न्यायका रूपमा लिन्छु भनेर देश आउनुभयो। प्रतिबन्धित कालमा पनि मुद्दाहरू न्यायपूर्ण रूपमा भएका छन्,' ढुंगानाले भने।
शक्ति पृथकीकरण र लोकतान्त्रिक व्यवस्थामा विश्वास राख्नेहरूले न्यायालयप्रति विश्वास राख्ने तर अदालतका यस्ता कार्यले विश्वासमा ह्रास ल्याउने ढुंगानाको भनाइ थियो।