काठमाडौं— काठमाडौं उपत्यकामा हुने जघन्य र गम्भीर अपराध अनुसन्धानका निम्ति खटिएका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नै लुटपाटको घटनामा संलग्न रहेको खुलेको छ।
कलंकीस्थित एक रेस्टुरेन्टबाट पुरानो खालको लेदरको पैसा लुटपाटमा उक्त कार्यालयका प्रहरी सहायक निरीक्षक (असई) अनबहादुर पुन र प्रहरी जवान धीर बुढाको संलग्नता देखिएको हो।
उनीहरू दुवैजनालाई कार्यालयको टोलीले पक्राउ गरेर थप अनुसन्धानका लागि बुधबार (हिजो) जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ।
काठमाडौं प्रहरी स्रोतका अनुसार, अनुसन्धान कार्यालयको कीर्तिपुर प्रहरी वृत्त (पीसीबी)मा कार्यरत उनीहरूले बिचौलियासँग मिलेर लेदरको पैसा लुटपाट गरेको खुलेको हो।
पुरानो लेदरको पैसासहित रेस्टुरेन्टमा पुगेका युवकलाई हतकडी लगाउन उनीहरूले बिचौलियालाई हतकडी समेत दिएको खुलेको छ । त्यति बेला उनीहरू रेस्टुरेन्ट बाहिर बसेका थिए । लेदरको पैसा लिएर आएका युवक सामु देखिएका थिएनन्।
लेदरको पैसा लुट्न उनीहरूको टोलीले २५ लाख रुपैयाँमा ‘बार्गेनिङ’ गरेको खुलेको छ। पछि लेदरको पैसा लिएर रकम नदिई उनीहरू त्यहाँबाट भागेका थिए।