News Griha :: न्यूजगृह
एसपी र इन्स्पेक्टर मुछिएको घटनामा अनुसन्धान गर्दै सीआईबी

काठमाडौं— ललितपुरमा प्रहरी समेतको मिलेमतोमा ‘हनी ट्र्याप’ मा पारेको घटनाको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गर्ने भएको छ।

एक जना व्यापारीलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख असुली गरेको घटनामा जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गर्न सीआईबीमा पठाएको हो।

ललितपुरका एसएसपी शेखर खनालका अनुसार बुधबार अनुसन्धानका लागि पक्राउ परेका चारै जना व्यक्तिहरू र मिसिल पठाइसकेको छ।

‘संगठित अपराधको कसुरमा हामीले पनि अनुसन्धान गरिरहेका थियौं। तर यसमा सिनियर अफिसरको कुरा पनि आएको छ। अन्य जिल्लामा पनि घटना भएको कुरा आएकाले हामीले सीआईबी पठाएका हौं,’ उनले भने।

यस घटनामा सुष्मा विक, ताज मुल इस्लाम, भीमादेवी थापा र प्रहरी सहायक हवल्दार महेन्द्र हमाल प्रहरीको हिरासतमा छन्। उनीहरूमाथि आपराधिक लाभ लिन नहुने कसुर र संगठित अपराधमा अनुसन्धान गरिरहेको हो। 

संगठित अपराधमा प्रहरीले प्रतिवादीहरूलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ। ललितपुर प्रहरीले एक महिनाभन्दा बढी समय लगाएर अनुसन्धान गरिसकेको छ।अनुसन्धानकै क्रममा प्रहरी प्रभाग भैंसेपाटीमा इन्चार्ज हुँदा घटना भएको खुलेपछि प्रहरी निरीक्षक बिनुकुमारी शाहीलाई निलम्बन गरी पक्राउ पुर्जी जारी गरिएको थियो।

तर उनी अझै फरार नै छिन्। अनुसन्धानकै बीच एसपी कमल थापा समेतको नाम जोडिएको छ। प्रहरीका सिनियर अधिकारीसमेत जोडिएको र अन्तरजिल्लाको समेत घटना जोडिएपछि ललितपुर प्रहरीले सीआईबीलाई अनुसन्धान गर्ने जिम्मा दिएको हो।

यही टोलीले दरबारमार्गमा हुँदा पनि १६ लाख हनी ट्र्यापमा पारी रकम असुली गरेको पक्राउ परेका ताजले बयानमा भनेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १३:०६
Weather Update