News Griha :: न्यूजगृह
मन्त्रीको जापान काण्डः ६ जना पक्राउ
कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी। फाइल तस्बिर

विराटनगर— कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीसँग जापान पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतका अनुसार तीन जना त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन्।

खोटाङको ऐसेलुखर्क गाउँपालिका– २ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका– ४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका– ५ का २२ वर्षीय कञ्चन देवकोटा विमानस्थलबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरु १५ दिनको भिजिट भिसामा जापान गएका थिए।

मन्त्री अधिकारी जापान भ्रमणमा जाँदा हङकङको ट्रान्जिटपछि तीन जनाले आफूहरू पनि भ्रमण दलमा रहेको बताएपछि मन्त्री अधिकारीले आफू निर्धारित कार्यक्रममा सहभागी नभई फर्किएको बताएका छन्।

फर्किँदा उनकै समन्वयमा तीन जना विमानस्थलमै पक्राउ परेका हुन्। उनीहरुको बयानका आधारमा दोलखाको जिरी नगरपालिका–९ का वीरबहादुर सुनुवार, नुवाकोटको बिदुर नगरपालिका– ७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ६ का ३४ वर्षीय महेशविक्रम पाण्डे पक्राउ परेका हुन्।

नेपालबाट २७ अक्टोबरमा एक्लै जापान जाने भनी हिँडेका अधिकारीसँग हङकङको ट्रन्जिटमा आफू पनि भ्रमण दलको सदस्य भन्दै परिचय गर्न पुगेका थिए। सोधीखोजी गर्दा शेर्पासँग ऐसेलुखर्क गाउँपालिका सदस्यको परिचय भेटिएको थियो। जनक र कन्चनसँग भने कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहायक पदको परिचयपत्र थियो।

अधिकारीलाई जापानको टोकियो महानगरपालिकाको कार्यक्रममा सहभागी हुनका लागि निम्तो आएको थियो। निम्तोको चाजोपाजो मोरङ घर भई काठमाडौं बस्ने एक एमाले कार्यकर्ताले मिलाएका थिए। अधिकारीका अनुसार २५ अक्टोबरमा भिसा लाग्यो।

उनी २७ अक्टोबरमा जापानका लागि उडे। टोकियोको कार्यक्रममा मन्त्रीको हैसियतमा एक्लै जाने र सम्पूर्ण खर्च आयोजकले ब्यहोर्ने जानकारी व्यवस्थापकले गराएका थिए। तर हङकङमा अवैध रुपमा मानिस ओसार पसार गर्ने समूहले आफूसँगै तीन जनालाई जापान पुर्‍याउन लागेको थाहा पाएपछि अधिकारी झस्किए।

टोकियो पुगेपछि मन्त्री अधिकारी पूर्वनिर्धारित कार्यक्रममा गएनन्, आफूसँग गएका तीनै जनालाई लिएर नेपाल फर्किए। ‘कार्यक्रममा गएको भए उनीहरु लुक्ने थिए, त्यसैले गइनँ,’ उनले भने, ‘सँगै नेपाल फर्किएर उनीहरूलाई प्रहरीको जिम्मा लगाएँ।’ प्रहरी स्रोतले भने मन्त्री अधिकारीले जिम्मा लगाएको दाबी गरेका तीन जनालाई जापानले डिपोर्ट गरेको बतायो।

मन्त्रीको जापान भ्रमण कोशी मन्त्रिपरिषद्बाट स्वीकृत भएको थिएन। भ्रमण स्वीकृत नगरी जापान जाँदा मानिस ओसारपसार गर्ने गिरोहले फसाउन खोजेपछि मन्त्री अधिकारीले राजीनामा दिएका हुन्। मंगलबार पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताए।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जाने कार्यक्रमको भ्रमण दलको सदस्य बनाउने गिरोह भने फरार छ। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १९:२६
Weather Update