
बारा— बाराको महागढीमाई नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले तीन महिनादेखि तलब पाएका छैनन् । तलब नपाएको भन्दै उनीहरूले आन्दोलनको तयारी गरेका छन् ।
मंगलबार बाराका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले हप्ता दिनभित्र तलबभत्ता निकासा नभए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
नेपाल शिक्षक संघ नगर कार्यसमितिका अध्यक्ष रामबाबुप्रसाद यादव र सचिव जितेन्द्रप्रसाद साहको नेतृत्वमा मंगलबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले नगरपालिकाका जनप्रतिनिधिसँग बुझेर आवश्यक प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको संघका सचिव साहले बताए ।
प्रजिअलाई बुझाइएको ज्ञापनपत्रमा तीन महिना यताको तलबभत्ता, गत शैक्षिक सत्रको पोशाकभत्ता, चालु शेक्षिक सत्रको पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजाको रकम हप्ता दिनभित्र नगरपालिकाको कार्यालयबाट निकासा हुनुपर्ने माग छ ।
माग सम्बोधन नभए २६ वैशाखदेखि चरणबद्ध आन्दोलनमा उत्रिने संघका अध्यक्ष यादवद्वारा हस्ताक्षरित ज्ञापनत्रपमा उल्लेख छ ।













