काठमाडौं— अमेरिकाको ४७औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। हालसम्मको मत परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि देखिएका छन्। सीएनएनका अनुसार उनी अहिलेसम्म २४६ इलेक्टोरल मतसहित अगाडि देखिएका छन्।
त्यस्तै डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यरिस १८२ इलेक्टोरल मतमा अगाडि छिन्। राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ।
जितका लागि निर्णायक मानिएका ७ स्विङ स्टेट मध्ये नर्थ क्यारोलाइनामा ट्रम्पले जित हासिल गरेका छन्। यो जितले ट्रम्पलाई बहुमतका लागि सहज बनाएएको छ। तर अन्य स्विङ स्टेटहरूमा कमला ह्यारिसको पकड स्थापित हुनपनि सक्छ। तर नर्थ क्योलाइनाको १६ इलेक्ट्रोरल सिटमा जित हासिल भएपछि ट्रम्पका समर्थकमा खुसियाली छाएको छ। सीएनएनले स्विङ स्टेटको रुपमा चिनिने जर्जियामा पनि ट्रम्पले विजय हासिल गर्ने प्रक्षेपण गरेको छ।
अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ। चुनावमा निर्णायक मानिएका स्विङ स्टेटहरूको नतिजाको नआइ कसले जित्न सक्छ भन्ने अनुमान गर्न कठिन हुन्छ। सन् २०२० मा पनि सुरुवाती नतिजामा ट्रम्पले अग्रता बनाएका थिए। तर अन्तिममा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले उनलाई पछाडि पारेका थिए। अन्तिम नतिजा आउन २–३ दिनसम्म लाग्न पनि सक्छ।
५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गरेका छन्। त्यस्ता राज्यहरू ‘ब्लु’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन्। डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लु’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेटका रूपमा चिनिन्छ।
यस पटक पनि पहिलेजस्तै निर्वाचन परिणाम नै निर्धारण गर्ने‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को मतले राष्ट्रपति चयनमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ। पेन्सिलभेनिया (१९), जर्जिया (१६), नर्थ क्यारोलाइना (१६), मिसिगन (१५), एरिजोना (११), विस्कन्सिन (१०) र नेभादा (६) गरी ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ को कुल इलेक्टोरल मत ९३ छ ।