काठमाडौं— अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी छ। मंगलबार मतदान सकिएलगत्तै बुधबार बिहानैदेखि सुरु भएको मतगणनाको प्रारम्भिक चरणदेखि नै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन्।
कुल ५३८ इलेक्टोरल कलेजमध्ये बिहान ११ बजेसम्म ट्रम्पले २३० र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसले २०५ इलेक्टोरल कलेज जित्ने निश्चित भएको विभिन्न अमेरिकी अखबारहरूले प्रक्षेपण गरेका छन्। यद्यपि रिपब्लिकनको बाहुल्यता भएका स्थानहरूबाट मतगणना सुरु गरिएकाले अहिले अग्रता लिइरहेका स्थानहरूमा लगातार अग्रता भइरहन्छ भन्ने निश्चित रहँदैन।
बिहान ८ बजेको पहिलो प्रारम्भिक रिपोर्टले डेमोक्र्याट भन्दा रिपब्लिकनले दोब्बरले अग्रता लिएको थियो। ट्रम्पले १७७ इलेक्टोरल कलेज जित्ने निश्चित हुँदा ह्यारिसले ९० स्थानमा मात्रै अग्रता लिएको भन्ने विवरण सार्वजनिक भएको थियो। दुई घण्टाको अवधिमा ह्यारिसले ट्रम्पसँगको दूरी घटाउँदै गएको देखिन्छ।
राष्ट्रपति निर्वाचित हुन कम्तिमा २७० इलेक्टोरल कलेज जित्नुपर्छ। त्यस्तै ट्रम्प पक्षका ५१ सिनेटर र ह्यारिसका ४२ सिनेटरले अग्रता लिइरहेको द न्यूयोर्क टाइम्सले जनाएको छ। अमेरिकाको ५० राज्यबाट २/२ जना सिनेटर निर्वाचित हुन्छन्।
हाउस अफ रिप्रेजेन्टेटिभमा पनि रिपब्लिकनले नै अग्रता लिइरहेका छन्। हाउस अफ रिप्रेजेन्टेटिभमा जनसङ्ख्याको आधारमा प्रत्येक राज्यबाट सदस्य चुनिन्छन्। सबैभन्दा बढी जनसङ्ख्या भएको क्यालिफोर्नियबाट ५४ जना सदस्य चुनिन्छन्।
न्यूयोर्क टाइम्सले हाउस अफ रिप्रेजेन्टेटिभतर्फ १८६ स्थानमा रिपब्लिकन अगाडि र १२० स्थानमा डेमोक्र्याटिक अगाडि रहेको उल्लेख गरेको छ।