News Griha :: न्यूजगृह
विविध कार्यक्रम गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै 

काठमाडौं— आज मे ३ अर्थात् विश्व प्रेस स्वतन्त्रता दिवस । पूर्ण प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित गर्न तथा प्रेस स्वतन्त्रता नखोसियोस् भन्ने उदेश्यसहित विविध कार्यक्रम गरी नेपालसहित विश्वभर यो दिवस मनाइँदै छ ।

‘स्वतन्त्र एवम् बहुलवादी प्रेसका लागि विण्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा बुधबार विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै गरिएको हो ।

संयुक्त राष्ट्रसंघीय निकाय युनेस्कोको आयोजनामा नामिबियाको विण्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विन्डहक घोषणापत्र’ जारी गरेको थियो । सोही घोषणापत्र जारी गरेको दिनको सम्झनामा सन् १९९३ देखि हरेक वर्ष यो दिवस पत्रकारहरूले उत्सवको रूपमा मनाउँदै आएका छन् ।

संयुक्त राष्ट्रसंघले यो दिवस मनाउने निर्णय गरेसँगै नेपालले पनि मे ३ का दिनमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

नेपाल पत्रकार महासंघले बिहान ७ बजे प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ भने बिहान ९ बजे पत्रकार महासंघको सभाकक्ष सञ्चारग्राम, तिलगंगामा ‘प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन’ सार्वजनिक कार्यक्रम आयोजना गरिएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रदेश प्रमुख, मुख्यमन्त्रीलगायत उच्च तहका व्यक्तिहरूले शुभकामना दिएका छन्  ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०७:०५
Weather Update