पोखरा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालत पेस गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई आज म्याद थपको लागि कास्की जिल्ला अदालतमा लगिएको हो।
सहकारी ठगी प्रकरणमै पक्राउ परेका पूर्व डीआइजी छविलाल जोशीसहित लीला पछाइ र रामबहादुर खनाललाई पनि म्याद थपको लागि केही बेर अगाडि जिल्ला अदालत कास्की तर्फ लगिएको थियो।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालतमा पेस गरिएको हो। आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ। म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ।
सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो। उनीमाथि सङ्गठित अपराधसँगै सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा पनि अनुसन्धान भइरहेको छ।