News Griha :: न्यूजगृह
तीन दिनपछि हुम्लामा पुनः हवाई उडान सुरु

हुम्ला— हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ। मौसम सफा भए पनि लक्ष्मी पूजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन। नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एअरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै उडान सञ्चालन गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ।

सोमबार नेपालगञ्जदेखि सिमकोटका लागि तारा एअर र नेपाल एअरलाइन्सले उडान भरेका हुन्। आज नेपालगञ्जदेखि तारा र नेपाल एअरलाइन्सले एक–एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ। दुवै एअरलाइन्सले नेपालगञ्जदेखि यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए। अन्य सीता र समिट एअरले तीन दिनदेखि उडान भर्न नसकेको छैनन्।

नेपालगञ्जदेखि उडान भर्दै आएका जहाजले आफ्नो तालिकाअनुसार हुम्लामा उडान भर्दै आएका छन्। मङ्गलबारका लागि नेपालगञ्जदेखि नेपाल एअरलाइन्सले आफ्नो उडान तालिकाअनुसार उडान भर्ने भएको छ। नेपालीको महान् पर्व दसैँ, तिहार सकिएसँगै सिमकोटबाट जिल्लाबाहिर जाने यात्रुको चाप विस्तारै बढ्दै गएको छ।

यो समयमा नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यति धेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको बताइएको छ। सीता एअर र समिट एअरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०८१  १८:३४
Weather Update