काठमाडौं— इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन्। वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा रेड नोटिस जारी भएका सिन्धुपाल्चोक मांखाकी बिनु शाक्यलाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई एनसीबी कम्बोडियाको सहयोगमा पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको हो।
सिङ्गापुर पठाइदिन्छु भनी ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रुपैयाँ ठगी गरी फरार रहेको प्रहरीले जनाएको छ।
फरार भएका शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भए पश्चात २०८० माघ १९ गते उनीहरुविरुद्ध रेड नोटिस जारी भएको थियो।
असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो। पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो। बिनुलाई कारबाही गराउन प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ।