News Griha :: न्यूजगृह
स्वतन्त्र प्रेसको महत्त्व सरकारले बुझेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिँदै उनले नेपालमा संवैधानिक दृष्टिले पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गरिएको र त्यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सरकारले सञ्चार क्षेत्रको संरक्षण,  तथा विकासका निम्ति यसको पुनःसंरचना, नीतिगत र कानुनी सुधारका क्षेत्रमा जोड दिएको उल्लेख गरेका छन् ।

‘प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, यो समग्र समाज र लोकतान्त्रिक प्रणालीको अभिन्न विषय हो, लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र प्रेसको महत्त्व सरकारले बुझेको छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको मूल मर्म र भावना एवम् सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्देश्यअनुरूप नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन, पत्रकारको दक्षता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको स्थापना र सार्वजनिक सेवा प्रसारक संस्थाको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको जानकारीसमेत दिएका छन् ।

त्यसैगरी सञ्चारमाध्यमको नियमनका लागि आमसञ्चार प्राधिकरणजस्ता निकायको स्थापना, प्रेस काउन्सिलको पुनःसंरचना, सञ्चारमाध्यमलाई सञ्चार सेवा उद्योगको मान्यता, विज्ञापन बोर्डमार्फत सरकारी विज्ञापनको समानुपातिक वितरण, पत्रकारका लागि दुर्घटना तथा स्वास्थ्य बिमा, ज्येष्ठ तथा अशक्त पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था एवम् एकीकृत आमसञ्चार विकास कोषको स्थापनाका लागि सरकारका तर्फबाट पहल भइरहेको उनको भनाइ छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि आवश्यक कानुन र संरचना बनाइने प्रधानमन्त्री दाहालको प्रतिबद्धता छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले घोषणा गरेपछि हरेक वर्ष मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाइँदै आइएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०६:०१
Weather Update