News Griha :: न्यूजगृह
निष्पक्ष सञ्चार जगत लोकतन्त्रका आधारस्तम्भ : सभापति देउवा

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वच्छ, स्वस्थ र निष्पक्ष सञ्चार जगत नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् । उनले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सम्पूर्ण पत्रकार तथा मिडियाकर्मीमा  शुभकामना र बधाई दिएका छन् ।

शुभकामना सन्देशमार्फत उनले प्रजातन्त्रको स्थापनासँगै हाम्रो देशमा पत्रकारिताको विकासक्रम प्रारम्भ भएको र स्वच्छ, स्वस्थ तथा निष्पक्ष सञ्चार जगत नै लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गरेका छन् ।

उनले भने,‘लोकतान्त्रिक व्यवस्थामै स्वतन्त्र प्रेस सम्भव हुन्छ भन्ने विश्वास राख्ने सञ्चारकर्मीले विभिन्न कालखण्डमा जो जसले सहादत दिनुभयो ती सबैलाई आजको मितिमा विशेष श्रद्धा साथ स्मरण गर्न चाहन्छु ।’

सभापति देउवाले नेपाली प्रेसलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन नेपाली मिडिया र पत्रकारले चाल्ने हरेक कदममा ऐक्यबद्धता प्रकट गर्दै दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली सञ्चारकर्मी एवम् सञ्चारमाध्यमलाई बधाई र शुभकामना व्यक्त गरेका छन् ।

मे महिनाको ३ तारिख अर्थात बुधबार संसारभरि विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । पत्रकार जगतले आफ्नो हक र हितका निमित्त सङ्गठितरूपमा दृढ साहस र सङ्कल्पका साथ सङ्घर्ष गरेर आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  ०५:५४
Weather Update