
त्रिशूली— नुवाकोटको म्यागङ गाउँपालिकाले चालु शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने भएको छ ।
हालै बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगदसहित सम्मान गर्ने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष सीता तामाङले जानकारी दिइन् ।
उनको अनुसार एसइईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई रु ५० हजार र तीन दशमलव छदेखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद रु २० हजारसहित सम्मान गर्ने निर्णय भएको छ ।
एसइईमा चार जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई रु ५० हजार र तीन दशमलव छ देखि चारभन्दा कम जीपीए ल्याउने प्रत्येक विद्यार्थीलाई नगद रु २० हजारसहित सम्मान गर्ने निर्णय भएअनुसार कार्यविधि बनाएर कार्यान्वयन गर्न लागिएको शिक्षा शाखा प्रमुख शेरसिंह रावतले जानकारी दिए ।
यो व्यवस्था चालु शैक्षिकसत्रदेखि सुरु गर्न लागिएको हुँदा आवश्यक बजेटको सुनिश्चित भइसकेको छ भने कानुनी प्रक्रिया अन्तिम चरणमा पुर्याइएको छ ।
‘अहिले विद्यार्थी एसइईको तयारीमा लागिरहेकाले उनीहरूको मनोबल उच्च बनाउन नगद रूपैयाँसहित सम्मान गर्ने निर्णय गरिएको हो’, शिक्षा शाखा प्रमुख रावतले भने ।













