News Griha :: न्यूजगृह
रवि लामिछानेलाई बुटवल उपस्थित गराइदिन रूपन्देही प्रहरीले गर्‍यो कास्कीमा पत्राचार

काठमाडौं— पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रूपन्देही प्रहरीले कास्कीमा पत्र पठाएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछानेलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।

सूर्यदर्शनको रकम अपचलनबारे अनुसन्धान अधिकृतहरूले उनको बयान लिएका छन्। कार्तिक १४ मा बयान पुरा गरेर जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र अनुसन्धान अधिकृत (डीएसपी) वसन्त शर्माले बयान प्रमाणित गरेका छन्।

बुटवल स्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न लामिछानेलाई उपस्थित गराउन पत्राचार गरिएको रूपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए। उनले भने, ‘कास्कीमा पत्र पठाएका छौँ, पर्व बिदा सकिएपछि ल्याएर अनुसन्धान अघि बढाउँछौँ।’

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट रास्वपाका सभापति लामिछानेको नाममा ऋण प्रवाह भएको भेटिएको छ। बुटवल उप महानगरपालिका–९ राजमार्ग चौराहामा सञ्चालित सुप्रिम बचतबाट लामिछानेले २०७७ चैत १८ मा २ करोड ऋण लिएका हुन्।

२०८१ वैशाखमा रूपन्देही जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्र अनुसार सो रकम गोरखा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंक लिमिटेडको खातामा जम्मा गरेको भेटिएको छ।

गितेन्द्रबाबु (जीबी) राई  र पूर्व उपराष्ट्रपति पुत्र दीपेश पुनसहित २८ जनालाई प्रतिवादी कायम गरेर यसअघि नै अदालतमा मुद्दा दायर गरिएको थियो। तर, त्यसबेला गृहमन्त्री लामिछानेलाई प्रतिवादी नबनाएकोमा प्रश्न उठेपछि अहिले लामिछाने विरुद्ध पूरक अनुसन्धान प्रतिवेदन लैजाने गरी इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  १९:४२
Weather Update