काठमाडौं— एअर इन्डियाको जहाजमा कुनै खतरनाक पदार्थ नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान दिल्ली उड्ने लागेको छ। उड्न लागेको जहाजमा बम रहेको सूचना आएपछि सबै यात्रुलाई ओरालेर जाँच गरिएको थियो।
दिउँसो ३:३९ मा १६८ यात्रु लिइ आएको जहाज सबै यात्रु ओरालेर दिल्लीको फ्लाइटको तयारी गरिरहेका बेला दिउँसो ४:३१मा बम थ्रेट रहेको सूचना आएको थियो। नागरिक उड्यन प्राधिकरणमा यस्तो सूचना आएपछि प्रहरी टोली र नेपाली सेनाको टोलीले जाँच गरेको थियो।
जाँचका क्रममा कुनै खतरनाक पदार्थ नभेटिएपछि सुरक्षाकर्मीले क्याप्टेनलाई जहाज जिम्मा लगाएका थिए। कुनै खतराको सूचना आएपछि त्यसलाई अनिवार्य रुपमा जाँच गर्नुपर्ने प्रोटोकल छ। काठमाडौं हुँदै दिल्ली जानको लागी १६० जना यात्रु सबै जना बोर्डिङ भई सकेको तथा प्रस्थान हुने यात्रुहरूको लगेज ब्याग समेत लोड गरिसकिएको थियो।
ती सबै लगेजहरू झारी पुन कुकुर समतेको प्रयोग गरी जाँच गरिएको विमानस्थल प्रहरी प्रमुख एसएसपी डम्बर बहादुर बिकले जानकारी दिए। यसअघि पनि गत साता एअर इन्डियाकै जहाजमा बम रहेको हल्ला चलेको थियो। त्यसअघि भिस्ताराको जहाजमा पनि बम थ्रेटको सूचना आएको थियो । तर ती दुवैमा कुनै खतराजन्य पदार्थ भेटिएको थिएन।