काठमाडौं— नेपालीहरुको दोस्रो ठूलो चाड तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण वायु प्रदूषण बढेको छ। एयर क्वालिटी इन्डेक्स’ ले शुक्रबार साँझ काठमाडौको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको छ।
एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौंमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो। इन्डेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौं विश्वको आठौँ प्रदूषित सहरको सूचीमा सूचिकृत रहेको छ।
चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित शहरको रुपमा सूचिकृत भएको छ। विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनी प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ। ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ। यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटु रोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ। १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ। २०१ देखि ३०० सयलाई धेरै अस्वथ्य मानिन्छ।
काठमाडौं उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ। पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरु जस्तै सल्फर डाईअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कणहरु वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्हरूले आग्रहसमेत गरेका छन्।
वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासहरुले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउन रोक लगाउनुपर्नेमा जोड दिए। पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र श्वासप्रश्वास सम्बन्धी समस्या उत्पन्न गर्छ। विषाक्त ग्यासहरूको कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्हरुले आग्रह गरेका छन्।
उनीहरुले पटकाका कारण हुने ठूलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने समस्या र उच्च रक्तचापको जोखिम बढाउने तथा यसले कानमा स्थायी क्षति पुर्याउन सक्ने जानकारी दिएका छन्।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ। उक्त व्यवस्थामा भनिएको छ,’ कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देजविपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन।’
सामान्यतः विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लाष्टिकक्याप, विद्युतीय ब्लाष्टिक क्याप, फ्युज, आतिसवाजी, पटका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनु पर्छ भनी स्पष्टीकरणमा उल्लेख छ।
उपदाफा २ को (क)मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र एक लाखसम्म जरिवानाको व्यवस्था छ। (ख) मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र पचास हजारसम्म जरिबाना र (ग) मा सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद वा तीस हजारसम्म जरिवानाको व्यवस्था छ।