News Griha :: न्यूजगृह
के साँच्चै काठमाडौंमा पेट्रोल अभाव भएको होर?

काठमाडौं— काठमाडौं उपत्यकामा शुक्रबार पेट्रोलियम पदार्थको अभाव देखिएको छ। थुप्रै पेट्रोल पम्पहरूमा पेट्रोल नभएको सूचना टाँसिएको थियो।

तिहारका बेला सवारी साधनमा पेट्रोल भर्न नपाएको गुनासो सर्वसाधारणले गरेका छन्।  नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टका अनुसार निगमका तर्फबाट कुनै समस्या छैन र पेट्रोलको भण्डारण पर्याप्त मात्रामा छ। 'निगमको तर्फबाट केही समस्या छैन।

पेट्रोल अभाव हुनपर्ने कुनै कारण छैन। सबै कुरा हेर्दा पनि पर्याप्त नै छ। तैपनि के भएको रहेछ भन्नेबारे हामी बुझ्छौं,' भट्टले भने। निगमका एक उच्च अधिकारीले भने तिहारको समयमा धेरै पेट्रोल खपत भएकाले पनि पम्पहरूमा अभाव देखिएको बताए।

'चाडबाडमा सबैले इन्धन भरेर राख्ने प्रवृत्ति छ। सामान्य दिनमा थानकोट डिपोबाट दैनिक ७ लाख लिटर पेट्रोल बिक्री हुन्थ्यो। शुक्रबार १४ लाख लिटर गएको छ,' निगमका ती उच्च अधिकारीले भने,' यसकारण पनि पम्पहरूमा तेल सकिएको हो।' 

त्यस्तै बिहीबार मूल्य समायोजन भएकाले पनि पेट्रोलियम पदार्थ कम भएको हुन सक्ने उनले बताए। बिहीबार निगमले भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र मट्टीतेलको भाउ समायोजन गरेको थियो।

पेट्रोलको भने यथावत् नै राखिएको थियो। तैपनि घटबढ हुन सक्ने भएकाले धेरै पम्पहरूले थोरै मात्र इन्धन भण्डारण गरेको हुन सक्ने अनुमान उनले गरे। 'तर अभावै हुनुपर्ने कुनै कारण छैन,' उनले भने, 'त्यसैले आत्तिनुपर्दैन।' 

प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०८१  ०७:००
Weather Update