News Griha :: न्यूजगृह
चौतर्फी आलोचनापछि ट्राफिकले ठाउँठाउँमा राख्न थाल्यो ‘स्पिड‍ चेकिङ’को सूचना

काठमाडौं— ट्राफिक प्रहरीले लुकेर 'चेकिङ' गर्ने गरेको भनेर चौतर्फी आलोचनापछि ठाउँठाउँमा चेकिङका लागि सूचना राख्न थालेको छ। प्रहरीले अहिले रिङरोडको सातदोबाटो, बल्खु, कलंकी, कीर्तिपुरलगायत क्षेत्रमा यसरी सूचना बोर्ड नै राखेर चेकिङ थालेको छ।

गत साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो। बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएपछि घिसार्दै ६० मिटर परसम्म लगेर शरीर नै क्षतविक्षत बनाएको थियो।

घटनालगत्तै लुकेर जाँच गर्दा दुर्घटना भएको भन्दै जम्मा भएको भीड प्रहरीमाथि जाइलाग्दा ढुंगामुढासहित तोडफोड भएको थियो। नाराबाजी पनि भयो। उक्त घटनापछि लुकेर चेकिङ गरेको भन्दै ट्राफिक प्रहरीको चौतर्फी आलोचना र विरोध भएको थियो।
सामाजिक सञ्जालमा झाडीमा लुकेर राडार गनले चेकिङ गरेको तस्वीर सार्वजनिक गर्दै त्यसरी चेकिङ नगर्न र व्यवस्थित ढंगले तत्काल सवारी व्यवस्थापन गर्न माग उठेको थियो। 

तर, अहिले चेकिङ गर्ने स्थानभन्दा अगाडि नै राडार गनसहितको सूचना बोर्ड राख्न थालिएको छ। बोर्डमा भनिएको छ, ‘तपाई स्पिड गन क्यामेराको निगरानीमा हुनुहुन्छ, स्पिड लिमिट ५०।’ बिजुलीका पोलहरूमा पनि उक्त सूचनासहित बोर्ड टाँस गरिएको छ। 

‘यो कार्य राम्रो छ’

ट्राफिक प्रहरीले ठाउँठाउँमा यसरी बोर्ड राखेपछि पूर्वाधार विज्ञ आशिष गजुरेलले यो कदम राम्रो भएको बताएका छन्। उनका अनुसार यस्तो सूचना विकसित मुलुकहरूमा पनि राखिएको हुन्छ। त्यसपछिमात्रै चेकिङ गर्न पाइन्छ।

‘स्पिड गनले चेकिङ गरिरहेको ठाउँको केही अगाडि गति सीमितसहितको सूचना बोर्ड राखिएका छन्, यो सूचना राखेपछि चाहिँ चेक गर्न मिल्छ, सूचना नभनी लुकेर चेक गर्दा चाहिँ राम्रो सन्देश जाँदैन, राज्यले राजश्व उठाउन यस्तो कार्य गरेको भन्ने प्रचार हुन्छ, ट्राफिक प्रहरीले गाली पनि खाइरहनु भएको छ, त्यही भएर यो राम्रो कदम हो,' उनले भने।

अन्य बाँकी रहेको ठाउँहरूमा पनि यस्ता बोर्ड राख्नुपर्ने उनको सुझाव छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भने कहिलै पनि ट्राफिक प्रहरीहरूले लुकेर सवारीसाधनको स्पिड चेक नगरिएको दावी गर्दै आएको छ। 

ठाउँठाउँमा सूचना नै राखिएको र देखिने ठाउँमै उभिएर चेकिङ गरिएको ट्राफिक प्रहरीहरूले बताउने गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  १९:२२
Weather Update