काठमाडौं— यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देश भित्रको विद्युत् उच्चमाग (पिक डिमान्ड) १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
लक्ष्मीपूजाको दिन आइतबार साँझ ६:२५ बजे पिक डिमान्ड १ हजार ६०२ मेगावाट रेकर्ड गरिएको हो । गत वर्षको २६ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमान्ड १ हजार ४३८ मेगावाट थियो । गत वर्षको तुलनामा यस वर्ष लक्ष्मीपूजाको दिन पिक डिमान्ड १६४ मेगावाट बढी हो ।
तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमान्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत् गृहहरु बाट उत्पादन गरी आपूर्ति गरिएको थियो ।
देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात समेत गरिएको प्राधिकरणले जनाएको छ ।
गत वर्ष लक्ष्मी पूजाको दिन पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो । यस वर्ष बाढीपहिरोले क्षति पुग्दा ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनाको विद्युत् उत्पादन बन्द छ । यसले गर्दा यस वर्षको विद्युत् निर्यात प्रभावित भएको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।
लक्ष्मीपूजाको दिन निर्यात सहित प्रणालीमा समग्र विद्युत्को माग १ हजार ८५५ मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष प्रणालीको पिक डिमान्ड १ हजार ९५५ मेगावाट थियो ।
यस वर्ष लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यकाको पिक डिमान्ड ३९० मेगावाट रेकर्ड गरिएको छ । गत वर्ष ३६६ मेगावाट थियो ।