News Griha :: न्यूजगृह
कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन हुन्छ : गृहमन्त्री लेखक
फाइल तस्बिर।

कास्की— गृहमन्त्री रमेश लेखकले कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि छानबिन हुने बताएका छन्।

बुधबार पोखरामा पत्रकारसँग गृहमन्त्री लेखकले सहकारीको रकम हिनामिना गर्ने जोकोहीलाई पनि कारबाही गरिने बताएका हुन्। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग भेटघाट गरेका थिए।

पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी संसदीय छानबिन समितिले सिफारिस गरेको आधारमा छानबिन गरिएको उनले बताए । उनले चार जनालाई छानबिनका लागि समितिले सिफारिस गरेको भन्दै जीवी राईबाहेक अन्य तीन जना पक्राउ परिसकेको बताए।

कोरला नाकालाई अन्तर्राष्ट्रिय नाकाको रूपमा स्थापना गर्न अध्यागमन कार्यालय राख्ने सरकारको १०० दिनको योजनाअनुरूप आज उद्‌घाटन गरिएको उनको भनाइ छ। सोहीअनुरूप आवतजावत गर्न धार्मिक पर्यटक र व्यापारिक रूपमा 'आजसम्म जिल्ला प्रशासन कार्यालयको अनुमति लिइन्थ्यो,' उनले भने, 'अबदेखि अध्यागमनले नै अनुमति दिनेछ। १५० दिनसम्मको भिसा लगाएर नै आउजाउ गर्न सकिन्छ।'

कोरला नाका गण्डकी प्रदेशमात्र नभई छिमेकी राष्ट्र भारतसँग जोडिने नाका भएकाले मुलुककै लागि महत्त्वपूर्ण रहेको उनको भनाइ छ। २०१२ कै प्रहरी ऐनमा प्रहरी प्रशासन चलेको भन्दै उनले हिउँदे अधिवेशनमा प्रहरी ऐन पारित गर्ने तयारी रहेको बताए।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १८:२१
Weather Update