News Griha :: न्यूजगृह
बलात्कार मुद्दामा दोषी ठहर भएका युवकलाई साढे १२ वर्ष कैद

हेटौँडा— अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुर एक युवकलाई साढे १२ वर्ष कैदको फैसला सुनाएको छ। अदालतले पीडकबाट पीडितलाई एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि गरेको छ।

जिल्ला न्यायाधीश शकुन्तला कार्कीको मंगलबारको इजलासले मकवानपुरको बकैया गाउँपालिका—१० का २६ वर्षीय विक्रम भन्ने सुजन थिङलाई १४ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो।

अदालतका सूचना अधिकारी केशवराज कौशिकका अनुसार बालिकालाई बलात्कार गरेकोमा १२ वर्ष र बौद्धिक अपांगता भएकीलाई बलात्कार गरेकोमा थप ६ महिना गरी साढे १२ वर्ष कैद गर्ने फैसला गरेको हो।

अभियुक्तले २०७६ चैत ६ गते बालिकालाई ललाइफकाई आफ्नै घरमा ल्याएर बलात्कार गरेका थिए। उक्त मुद्दा जिल्ला अदालत मकवानपुरको फैसला हुन बाँकी रहेका मुद्दामध्ये सबैभन्दा पुरानो मुद्दा हो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १९:४६
Weather Update