News Griha :: न्यूजगृह
प्रधानमन्त्री ओलीसँगको भेटमा रास्वपा उपसभापति अर्याल र नेता परियारले के भने?

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का उपसभापति डीपी अर्याल र प्रमुख सचेतक सन्तोष परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। उपसभापति अर्याल र प्रमुख सचेतक परियारले सोमबार राति ८ बजेदेखि पौने ९ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेका हुन्। 

प्रधानमन्त्रीलाई भेटेर पार्टीले आयोजना गरेको बालुवाटार घेराउ शान्तिपूर्ण हुने बारे जानकारी गराएको प्रमुख सचेतक परियारले जानकारी दिए।

‘बालुवाटार घेराउको कार्यक्रमबारे अनेक आशङ्का थियो। बालुवाटारको कार्यक्रम शान्तिपूर्ण हुनेछ भनेर हामीले गृहमन्त्रीलाई भेटेर जानकारी दिने छलफल गर्‍यौँ। मैले नै गृहमन्त्रीसँग समय मागेको थिएँ। पार्टीका उपसभापति तथा आन्दोलन सञ्चालन मूल समितिका संयोजक डीपी अर्यालले गृहमन्त्रीलाई भेटेर आन्दोलन शान्तिपूर्ण हुने, रचनात्मक हुने जानकारी गराउनुभयो। त्यहाँ म जान पाइनँ। प्रधानमन्त्रीलाई पनि जानकारी गराऊँ भनेर समय मागेका थियौँ,’ उनले भने।

उनका अनुसार प्रधानमन्त्रीका तर्फबाट राति ८ बजे समय दिइएको र बालुवाटार घेराउ सौहार्द्रपूर्ण हुने जानकारी गराएको बताए। ‘प्रधानमन्त्रीले चितवनमा आफ्नो पुत्ला जलाइएकोबारे पनि चासो राख्नुभयो। तपाईंहरूको आन्दोलनमा यस्तो भएछ नि भनेर अलिअलि छेडखानी पनि भयो। त्यस्तो आन्दोलन गर्ने पार्टीको नीति नरहेको र पार्टीका तर्फबाट भएका त्यस्ता गतिविधिबारे हामीले गल्ती पनि महसुस गर्‍यौँ। मंगलबारको कार्यक्रम अत्यन्त शान्तिपूर्ण र सिर्जनात्मक हुने बारे जानकारी गरायौँ। त्यस्तै पौने घण्टा छलफल गरेर बाहिर निस्किएका हौँ। प्रधानमन्त्रीका तर्फबाट उहाँमात्रै हुनुहुन्थ्यो। पार्टीका तर्फबाट म र डीपी अर्याल मात्र थियौँ। तर बाहिर अनेक टिप्पणी भएछ,’ उनले भने।

उनले चितवनमा प्रधानमन्त्रीको पुत्ला जलाएको बारे पार्टीले नै गल्ती महसुस गरिसकेको बताए। भेटमा प्रधानमन्त्रीले सहकारीको बचत अपचलन बारे संसदीय छानबिन समिति बन्ने बेला आफूले लिएको अडानको प्रसङ्ग पनि निकालेका थिए। संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताएका थिए। 

‘सहकारी छानबिन समितिको प्रतिवेदन र त्यसको कार्यान्वयनबारे हामीले केही टिप्पणी गरेका छैनौँ,’ उनले भने, ‘हिरासतमा पार्टी सभापतिमाथि भइरहेका व्यवहार बारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका हौँ।’ 

प्रधानमन्त्रीका प्रेसविज्ञ रामशरण बजगाईंले रास्वपाका उपसभापति अर्याल र प्रमुख सचेतक परियारले रवि लामिछानेमाथि पूर्वाग्रह र राजनीतिक प्रतिशोध साँधेर हिरासतमा लिइएको धारणा राखेको बताए।

‘उहाँहरूको सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधियो भन्ने कुरा थियो। तर प्रधानमन्त्रीज्यूले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँध्नुपर्ने कुनै कारण नरहेको र संसदीय छानबिन विशेष समितिको सिफारिस कार्यान्वयन गर्नु सरकारको दायित्व भएको बताउनुभएको थियो,’ बजगाईंले भने, ‘उहाँले त अझ संसदीय छानबिन समिति बन्ने बेला समस्यालाई केन्द्रमा राखौँ व्यक्ति नतोकौँ भनेकोसमेत स्मरण गराउनुभएको थियो। छानबिन समिति बनेर प्रतिवेदन आइसकेपछि कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको बताउनुभयो।’ 

प्रतिवेदनले गरेको सिफारिस कार्यान्वयन गर्दा राजनीति प्रतिशोध साँधियो भन्नु जायज नभएको बताउँदै नयाँ भन्ने दलहरूले यस्तो तर्क गर्दा राम्रो सन्देश नजानेसमेत बताएको बजगाईंले जानकारी दिए।

सहकारी ठगी र संगठित अपराधको कसुरमा रास्वपाका सभापति लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्। उनलाई दुईपटक म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ। रास्वपा भने लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको भन्दै आन्दोलित भएको छ। मंगलबार रास्वपाले बालुवाटार घेराउ गरेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १८:४९
Weather Update