News Griha :: न्यूजगृह
सरकारसँग तीन बुँदे सहमति, रुबी खान समूहको आन्दोलन स्थगित

काठमाडौं— निर्मला कुर्मीको हत्यामा संलग्न लगायतलाई कारबाहीको माग गर्दै आन्दोलनरत रुबी खान नेतृत्वको आन्दोलनकारी समूह र गृह मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ। सहमतिसँगै खानको समूहले साढे दुई महिनादेखि निरन्तर जारी राखेको आन्दोलन स्थगित गरेको छ।

सहमतिअनुसार निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीसँग सम्बन्धित अनुसन्धान सम्बन्धमा गृह मन्त्रालय र आन्दोलनरत पक्षबीच २०८१ असार १० गते भएको सहमतिको बुँदा नं. १ बमोजिम शीघ्र निरुपण गर्न नेपाल प्रहरी प्रधान कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय, बाँकेलाई लेखी पठाउने उल्लेख छ।

त्यस्तै विगतमा अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरूलाई थप अनुसन्धानका लागि आवश्यकताअनुसार प्रहरी प्रधान कार्यालयले तत्काल काजमा खटाउने पनि सहमतिमा उल्लेख छ।

निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी जाहेरीको विषयलाई लिएर खानको समूह गत साउन २५ गतेदेखि आन्दोलनरत थियो।
सहमतिमा आन्दोलनरत पक्ष र उनीहरूको परिवारको सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय बाँकेलाई लेखी पठाउने पनि उल्लेख छ।

सहमतिपत्रमा नेपाल सरकारका तर्फबाट गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र आन्दोलनरत पक्षबाट रुबी खानले हस्ताक्षर गरेका छन्। राष्ट्रिय मानव अधिकार आयोगका पूर्वसदस्य मोहना अन्सारी, विजयबाबु शिवाकोटी, मोहम्मद शेर वागवान, बसन्त रञ्जितकार र मनकुमारी गुरतालको रोहबरमा हस्ताक्षर भएको थियो। 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १८:१५
Weather Update