
काठमाडौं— संसद् सचिवालयले प्रतिनिधि सभा सदस्य लक्ष्मी महताे कोइरीलाई निलम्बन गरेको छ ।
संसद्का महासचिव डा.भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले मंगलबार नेकपा एमालेका सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।
प्रहरी प्रधान कार्यालयको १७ वैशाखको पत्रबमोजिम प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को व्यवस्था बमोजिम सांसद कोइरी निलम्बनमा परेका हुन् ।
कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने थियो ।
उच्च अदालतले २०७७ साल १९ मङ्सिरमा त्यस्तो आदेश दिएको भए पनि कोइरी थुनामा नबसी तारेख गुजारेर फरार रहेको पाइएको छ ।
महोत्तरी जिल्ला अदालत, जलेश्वरमा हालसम्म पनि हाजिर नगरी फरार रहेको प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख भए बमोजिम सांसद कोइरीलाई मंगलबार सभामुखले निलम्बन गर्ने निर्णय गरेका हुन् ।