News Griha :: न्यूजगृह
रवि लामिछानेको बयान सकिएको हो? 

पोखरा— सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दामा पक्राउ परेर अनुसन्धानका क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई सोमबार करिब साढे ८ घण्टा बयान लिइएको छ। सरकारी वकिलको कार्यालयमा प्रहरीले उनीसँग लामो बयान लिएको हो।

बिहान साढे ११ बजेतिर सरकारी वकिलको कार्यालयमा प्रवेश गराइएका रविलाई पौने ८ बजे राति मात्रै निकालिएको छ। उनलाई सरकारी वकिलको कार्यालयबाट जिल्ला प्रहरी कार्यालयमा लगिएको छ। रविको बयानबारे थाहा पाएर त्यहाँ पुगेका उनका समर्थकहरू भने रविको बारेमा कुनै जानकारी नदिइएको भन्दै प्रहरीसँग रुष्ट बनेका छन्।

‘लामो समयदेखि हामी यहाँ छौँ। प्रहरीले सामान्य जानकारी पनि दिएन,’ उनीहरूले भने, ‘बयान सकिएको हो कि होइन, अब के हुन्छ भन्ने सामान्य जानकारी पनि दिइएको छैन। यो गलत हो।’ रविलाई जिल्ला अदालतले दोस्रो पटक ७ दिनको म्याद थप गरेको छ। उनको म्याद १४ गते सकिनेछ। 

तर १५ गतेदेखि नै तिहार बिदा हुने भएकाले उनलाई २० गते मात्रै अदालत उपस्थित गराउने बताइएको छ। लामिछानेलाई कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको हो। रास्वपाले उनको समर्थनमा पोखरामा झण्डै १ साता प्रदर्शन गरेको थियो। पछिल्लो पटक म्याद थप भएपछि रास्वपाको प्रदर्शन काठमाडौं केन्द्रित भएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  २०:२९
Weather Update